बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भयो । पाकिस्तानविरुद्धको जितमा अञ्जन विष्टले निर्णायक गोल गरे । उनले ८३ औं मिनेटमा सुनिल बलको पासमा गोल गरेका हुन् । उनकै गोलमा पाकिस्तानविरुद्ध नेपाल १४ वर्षपछि विजयी भयो ।
नेपालले पाकिस्तानविरुद्ध पछिल्लोपटक सन् २००८ मा जित निकालेको थियो । त्यसयता नेपाल पाकिस्तानविरुद्ध हार बेहोर्दै आएको थियो । तर, आज भने नेपालले हारको यात्रा समाप्त गर्यो । सन् २००८ मा माल्दिभ्सको मालेमा भएको साफ च्याम्पियनसिपमा ४–१ गोलको नतिजामा जित निकालेयताका पाँच खेलमा नेपाल पाकिस्तानसँग जितविहीन थियो ।
डेब्यू कप्तानीमै नेपालले जित निकालेपछि के भन्छन् रोहित?
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान रोहित चन्दले पाकिस्तानविरुद्धको जितले आगामी दिनमा थप हौसला प्रदान गरेको बताएका छन् । देशका लागि खेल्न पाउनु सम्मानको कुरा रहेको बताउँदै उनले रंगशालामै पुगेर साथ दिएकोमा समर्थकलाई धन्यवाद पनि दिएका छन् । ‘राष्ट्रका लागि खेल्नु कुनै पनि खेलाडीको लागि सधैं सम्मानको कुरा हो । राष्ट्रिय जर्सी लगाएर मैदानमा आउनु गौरवको कुरा हो,’ रोहितले भने ।
एनले अगाडि थपे, ‘पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सामूहिक जितका लागि विश्वभर रहेका सम्पूर्ण नेपाली समर्थकहरूलाई धन्यवाद दिन चाहन्छु । भीडबाट पाएको समर्थनले हामीलाई सधैं लडाइरहन प्रेरित गर्यो र ठूलो प्रोत्साहन थियो । स्टेडियममा उपस्थित सबैलाई धन्यवाद । र, हामी तपाईंलाई फेरि भेट्ने आशा गर्दछौँ ।’
पाकिस्तानविरुद्धको जितपछि यस्तो भन्छन् विमल
पाकिस्तानसँगको रोमाञ्चक जितपछि नेपाली फुटबल टिमका महत्वपूर्ण सदस्य विमल घर्ती मगरले प्रतिक्रिया दिएका छन् । उनले पाकिस्तानविरुद्धको जित युवा फुटबलर प्रिजन तामाङप्रति सर्मपित गरिएको बताए । ‘पाकिस्तानविरुद्धको जित हाम्रो प्यारो भाइ प्रिजन तामाङप्रति सर्मपित गर्न चाहन्छौँ । क्यान्सरसँगको लडाइँलाई पराजित गरी फुटबल मैदानमा देख्न पाउँ भन्दै भाइलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ विमलले फेसबुकमा लेखेका छन् ।
प्रतिक्रिया