त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सातदोबाटो युवा क्लब केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
वर्षाका कारण हिजो आइतबार बीचमै रोकिएर आज भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराएको हो । पहिलो सेमिफाइनलमा सातदोबाटोले विभागिय क्लव त्रिभुवन आर्मी क्लवलाई सडेन डेथमा ६–५ ले पराजित गर्दै फाइनल पुगेको हो । हिजोको पहिलो सेमिफाइनलको ५३ मिनेट वर्षासँगै असिना पानी र भिजिविलिटि कम भएपछि स्थगित भएको थियो । खेलको बाँकी समय आज खेलाइएको हो ।
खेलको ७८ औं मिनेटमा आर्मीले पाएको अवसर सदुपयोग गर्न असफल रह्यो तर ८१ औं मिनेटमा आर्मीले अर्को सुन्दर अवसर पाएको थियो ।
आज भएको दोस्रो हाफको खेलमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पहिलो पेनाल्टीमा दुवै टिमका गोलरक्षकले १–१ गोल रोकेपछि ४–४ मा बराबरी भएको थियो । सातौं पेनाल्टी प्रहार गर्न आएका त्रिभुवन आर्मी क्लबका सुदिल राईको बल अभिषेक बरालले बचाउँदै सातदोबाटो युथ क्लबलाई फाइनल प्रवेश गराएका हुन् ।
सातदोबाटोले उपाधिका लागि आयोजक केपी ओली फुटबल क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ । यी दुई बीचको खेल आज सोमबार दिउँसो ३ बजे एन्फा कम्लेक्स सातदोबाटोमा नै हुने छ भने फाइनल खेल फागुन १७ मा दशरथ रंगशालामा हुनेछ ।
प्रतिक्रिया