पेरिस ओलम्पिक–२०२४ का लागि हुने महिला ओलम्पिक फुटबल एसियन छनोटको प्रारम्भिक चरणका खेलहरु नेपालमा हुने भएको छ । छनोटको प्रारम्भिक चरणको समूह ‘सी’ मा रहेको नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जानकारी दिएको छ ।
यसअघि समूह ‘सी’ का खेलहरु प्यालेस्टाइनमा हुने तय भएको थियो । तर प्यालेस्टाइनले आयोजकबाट आफ्नो नाम फिर्ता लिएपछि एएफसीले यो समूहको छनोट खेलहरुको आयोजनाको जिम्मा नेपाललाई दिएको हो ।
छनोटको पहिलो चरणका खेलहरु अप्रिल ३ देखि ११ अर्थात चैत २० गतेदेखि २८ गतेसम्म हुनेछन् । समूहको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ भने छनोटको दोस्रो चरणमा उत्तर कोरिया, दक्षिण कोरिया, जापान, चीन र अस्ट्रेलियाले यसअघि नै स्थान बनाइसकेका छन् ।
दोस्रो चरणमा प्रवेश गर्ने टिमहरुलाई तीन समूहमा विभाजन गरिनेछ । दोस्रो चरणबाट समूह विजेता र एक उत्कृष्ट समूह उप–विजेता तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणबाट शीर्ष दुई टिमले पेरिस ओलम्पिकमा स्थान बनाउनेछन् ।
ओलम्पिक छनोटको तयारीका लागि यसअघि नेपालले भारतसँग चेन्नाईमा दुई मैत्रीपूर्ण फुटबल खेलेको थियो । भारतविरुद्धको पहिलो खेलमा नेपालले २–२ को बराबरी खेल्दा दोस्रो खेलमा घरेलु टिमलाई बराबरीमा रोकेको थियो ।
प्रतिक्रिया